बोल्दा पनि बोल्दिनौ ए ! रिसायौ कि काली
मन र मुटु अन्तै कतै बिसायौ कि काली।
बाचा-बन्धन कसमहरू खेलाँची नै भए
आफूभित्र अरूलाई नै मिसायौ कि काली।
भावना र चाहनाका उडान भर्ने बानी
सम्झनाको सिरानी त्यो चिस्यायौ कि काली।
'हातको मैला सुनको थैला' ठूला कुरा गर्थ्यौ
माया मेरो वैभवसितै पिसायौ कि काली।
विह्वल पन्छी बनाई छाड्यौ मधुलाई आज
मुटु मेरो लास बनाई घिस्यायौ कि काली।
Tuesday, February 3, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment