Monday, February 2, 2009

बिधिको बिडम्बना

म सानै हुँदा मलाई मेरी हजुरआमाले हुर्काउनु भयो , बढाउनु भयो । राणा शासन भन्दा पनि चर्को शासन झै मेरो घरको बुर्हातनले गर्दा र आमाको ब्यस्तताले गर्दा मैले आमाबाट भन्दा हजुरआमाबाट वात्सल्य स्नेह बढी पाएँ । काखमा राखेर खाना खुवाउने , पिठयुमा बोकेर वल्लो घरको आगन देखि पल्लो घरको आगन सम्म डुलाउँदा डुलाउँदै म हजुरआमाको पिठ्युमा नै निदाउँथे । समय बित्दै जाँदा म पनि अलि बुझ्ने भएँ , स्कुले जीवन सुरु भयो । हजुर आमाले मलाई उहाँको बिगत जीवन र एकादेशका कथाहरुले मेरो मनमष्तिष्क भरी दिनु भएको थियो । उहाँकै आर्शिबाद र आत्मियतामा मेरो बाल्यकाल अति सुखमय भएर बित्दै थियो । समय बितेको पत्तो नपाई पढाईमा पनि सफल हुदै मैले एस एलसी परीक्षामा पहिलो श्रेणी ल्याएछु । त्यसबेला हजुरआमा खुशिले आखाँबाट आँशुका दाना झार्दै मलाई फूलको माला र निधारमा रातो टिका लगाईदिएर आर्शिबाद माथि प्रगतिका शुभकामनाहरु अंजुलीभरी दिनुभयथ्यो । मेरो हजुरआमा सेतो केश भएकी , चन्द्रमा जस्तो उज्वल मुहार भएकी ,लाठीको सहारामा भित्र बाहिर गर्नु हुन्थ्यो । म सानै देखि जीवजन्तु प्रति चासो लिने भएकोले पशुविशेषज्ञ सम्बन्धी पढने उदेश्य लिएर विदेश लाग्ने निधो भयो । म हिड्ने बेलामा आँखा भरी आँशु पारेर ढोकामा चुपचाप उभिरहनु भएको थियो । म सबै परिवारसँग बिदा भएर आफनै लक्ष्य प्रति केन्दि्रत हुदै प्रदेश लागेँ । म हिडने बेलामा हजुरआमाको वाक्यहरु मुखबाट ननिस्के पनि उहाँका आँखाहरुले आर्शिवादको बर्षा गरिरहेको भान हुन्थ्यो । मैले आँखामा आँखा जुधाएर हेर्ने आँट गर्नै सकिन , यसरी म बिदेश लागें । बिदेश लागे पछि म मेरो पढाई र ट्रेनिङमा ब्यस्त भएँ । मैले चार बर्षको ट्रेनिङ सकेर बिदेशमा नै रामो्र काम गर्ने मौका पाएँ । लामो समयको अन्तराल पश्चात गाउँघर,परिवारको मायालाई शिरोपर गरी छोटो समयको लागी म नेपाल आएँ । मेरो पर्खाइमा मेरो ढुकढुकी बनेर बस्नु भएकी मेरी हजुरआमा ले मलाइ अघाउन्जेल मायाले सुम्सुमाउनु भयो । छोटो समयको बसाइ पछि म पनि र्फकने दिनहरु नजीक आइरहेको थियो । सायद यही पीरले होला हजुरआमा बिरामीनै पर्नु भयो । मलाइ जतिबेला पनि आफनै छेउमा बसीदिए हुन्थ्यो जस्तो गर्नु हुन्थ्यो । तर के गर्नु समय र परिस्थितिको चपेटामा परे पछि धरै नपाइने रहेछ । मुटु माथि ढुङ्गा राखी फेरी म बिदेशिन बाध्य भएँ । यात्रा भरी नै आँखा ओभानो भएन । झल्झली परिवार र बृद्ध हजुरआमाको सम्झनाले पीरोलिरहृयो । प्लेनबाट ओर्लेर मनमा नानाभाँतिका कुराहरु खेलाउँदै कोठामा पुगें । कोठा खोलेर भित्र पसि पलङ्मा ढल्केको मात्र के थिएँ,फोनको घण्टी टिनिनि टिनीनी बज्यो, म फोन भए तिर लम्किएँ कुनै साथिको फोन होला भनेर तर बिधिको बिडम्बना मैले हेलो मात्र के भनेको थिए पल्लो घरको कान्छा बा ले बाबु हजुरआमाले हामी सबैलाइ छाडेर सदाको लागी जानु भयोभन्नु भयो । अनि म स्तब्ध भएर रोइरहेँ रोइरहेँ, मेरो रुवाइको कुनै अर्थनै रहेन जे हुनु थियो त्यो हुने नै रहेछ बिधिको बिडम्बना यस्तै नै होला सायद । त्यसैले होला आजभोली कुनै बृद्ध महिला देख्दा पनि मेरी प्यारी हजुरआमाको यादले सताउँछ ।

No comments:

Post a Comment